वीरगञ्ज, ९ पुस ।
Gen-Z आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय, काठमाडौंबाट फरार भएका दुई जना कैदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पुनः पक्राउ गरेको छ।
प्रहरीका अनुसार बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ५ बस्ने २५ वर्षीय प्रदेशी भन्ने सुदामा पासवान कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए। उनी २०८२ साल भदौ ८ गते Gen-Z आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए। फरार अवस्थामा रहेका पासवानलाई पुस ८ गते राती करिब ९:५० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १५ भिस्वा क्षेत्रबाट पक्राउ गरी बीरगंज कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यसैगरी बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. २ बस्ने ३२ वर्षीय विवेकलाल साह कानु बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन, इजलास हेटौडाको आदेशअनुसार रु. ५० हजार धरौटी बुझाउन नसकी केन्द्रीय कारागार कार्यालय सुन्धारा, काठमाडौंमा थुनामा रहेका थिए। उनी पनि Gen-Z आन्दोलनकै क्रममा भदौ २३ गते कारागारबाट फरार भएका थिए। फरार कानुलाई पुस ८ गते दिउँसो ३:००बजे वीरगञ्ज महानगरपालिका वडा नं. ४ बिर्ताबाट पक्राउ गरी वीरगञ्ज कारागारमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले फरार कैदीहरू खोजतलास तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।
Gen-Z आन्दोलनका क्रममा फरार दुई कैदी पुनः पक्राउ
प्रतिक्रिया लेख्नुहोस
