जनकपुरधाम, भदौ १६ । जनकपुरधामको रामानन्दचोकस्थित नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको जन्म भएको दोस्रो दिनमै मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रविन्द्र साहकी पत्नी चंचला देवीलाई प्रसव पीडा हुँदा परिवारजनले उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए । प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले अपरेशन गरी उनको पेटबाट बच्चा निकाले ।
शिशु जन्मिएपछि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादेशिक अस्पतालको एनआइसियू खाली नरहेको शिशुका पिता रविन्द्रलाई डा. मण्डलले जानकारी गराए ।
रविन्द्रले भने, ‘डा. मण्डलले शिशुलाई रामानन्दचोकस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटलमा लगेर एनआइसियूमा राखेर उपचार गर्नुपर्छ भने । त्यसपछि शिशुलाई सोही दिन नैना हस्पिटलमा लगेर उपचार सुरु गरियो । तर, बुधबार दिउँसो एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी गरायो ।’
‘डाक्टरलाई शिशुको अवस्था ठिक छैन भने अन्यत्र रेफर गरिदिन आग्रह गर्दै आएका थियौँ । तर, ती डाक्टरले उसको अवस्थामा सुधार आइसकेकोले रेफर गर्नु पर्दैन भन्दै आइरहेका थिए,’ रविन्द्रले भने, ‘तर, अचानक बुधबार शिशुको मृत्यु भइसकेको जानकारी गराउँदा हामी आश्चर्यमा पर्यौं ।’
चिकित्सकहरुले शिशुको हर्टबिट कम रहेको भन्दै उसलाई एनआइसियूमा भर्ना गर्न लगाएको र दुई दिनमा ३२ हजार रुपैयाँको बिल बनाएर अन्ततः आफ्नो सन्तानलाई मारेको रविन्द्रको दाबी छ ।
घटना सम्बन्धमा डाक्टर अभय मण्डलले भने,‘चंचलाको डेलिभरी कुन अवस्थामा भयो त्यो मलाई जानकारी भएन् । तर, शिशु जन्मेपछि उसको हर्टबिट कम थियो, त्यसैले एनआइसियूमा राखेर उपचार गरियो । अस्पतालले सकेसम्म शिशुलाई बचाउने सम्पूर्ण प्रयास गरेकै हो । तर, बचाउन सकिएन ।’
